यो लेख नेपालबाट प्रकाशित हुने लिभिङ्ग विथ आइसीटी पत्रिकाको असारको अंकमा प्रकाशित भएको हो । ]
मैले शुरु गरेको आइटी करिअरमा सबै भन्दा समस्या भोगेको क्षेत्र भनेको वेब होस्टिंग हो । होस्टिंग कम्पनि राम्रो छान्न नसक्दा र सर्भर सम्बन्धि ज्ञान कम हुनाले वेबसाइट लाइभ भएपछी थुप्रै समस्याहरु देखापर्छन । यदि तपाइँ पनि कुनै वेब संचालन गरिरहनु भएको छ भने कहिले साइट बन्द हुने, कहिले ह्याक हुने, कहिले इमेल नचल्ने, कहिले एरर म्यासेज आउने, कहिले स्पेस सकिने, कहिले ब्याण्ड विड्थ सकिने आदि इत्यादि समस्याहरु पक्कै पनि भोग्नु भएको होला ।
तपाइँ वेब डेभलपर नै भए पनि यी सबै समस्याको समाधान आफै गर्न सक्नुहुन्छ भन्ने छैन । कति समस्याहरु सर्भर संग सम्बन्धित हुन्छन जस्को लागि तपाइँलाइ त्यसको बिशेष ज्ञान हुनु आवश्यक पर्छ । यस्तो परिस्थितिमा यदि तपाइँले सर्भर कम्पनिको सपोर्ट पाउनु भएन भने समाधान हुन गाह्रो हुन्छ । र जसको कारणले तपाइको पेशा नै धरापमा पर्न सक्छ । उदाहरणको लागि कुनै बिशेष कार्यक्रमको लागि तपाइँले वेबसाइट बनाउनु भयो र त्यस कार्यक्रमको दर्ता अनलाइनमा राख्नु भएको छ । र कार्यक्रम कै दिन तपाइँको साइट बन्द भयो भने पक्कै पनि त्यसले तपाइँको पेशागत दक्षतामाथि प्रश्न चिन्ह खडा हुन्छ ।
यहाँ केहि बुदाँहरु लिएर आएको छु जसले पक्कै पनि तपाइँलाइ राम्रो र आफ्नो साइटको लागि सुहाउदो होस्टिंग छान्न सहयोग गर्ने छ ।
१. मूल्य
तपाइँको साइटको योजना अनुसार कति मूल्य सम्मको होस्टिंग किन्ने भन्ने कुरा मुख्य बिषय हो । अझ नेपालमा बसेर काम गर्नुहुनेको लागि त यो अझ महत्वपूर्ण हुन्छ । पहिलो कुरा पैसा तिर्ने सजिलो बाटो नहुनाले र दोश्रो कुरा डलरमा तिर्नु पर्ने हुनाले सानो साइट बनाउनेहरुका लागि महँगो हुन जान्छ ।
मलाइ पनि यो कुरा अत्यन्त गाह्रो हुने गर्थ्यो । चिनजानको दाजुहरु बाट किनेर वेब होस्ट गर्न शुरु गरेको थिएँ तर विच-विचमा आउने विभिन्न समस्याहरुले सताई नै रहन्थ्यो । पछि विदेशमा बस्ने क्लाइन्ट र साथीहरुको एकाउन्ट बाट पैसा तिर्ने व्यवस्था मिलाएको थिएँ । जुन अस्ट्रेलिया आइसकेपछि सजिलो भएको छ ।
यदि तपाइँ ठुलो स्केलमा काम गर्नु हुदैन भने नेपालमा रिसेलर होस्टिंग उपलब्ध गराउने धेरै कम्पनि हरु पनि छन् । जसबाट सजिलै लिन सक्नुहुन्छ । तर यदि तपाइँले सिधै मुख्य होस्टिंग कम्पनि बाट नै लिने सोच बनाउनु भएको छ भने होस्ट गेटर, जस्ट होस्ट , ब्लु होस्ट, गो ड्याडी जस्ता कम्पनिहरु बाट पनि सस्तोमा लिन सक्नुहुन्छ ।
तर सस्तोमा भेटियो भन्दैमा त्यसलाई छान्ने काम नगर्नु होला । तपाइँला आवस्यक परेका सेवाहरु र तल उल्लेखित केहि बुदाँहरु लाइ मध्ये नजर गरेर मात्र किन्नु होला ।
२. स्टोरेज क्षमता
यो अर्को महत्वपूर्ण कुरा हो । मेरो अनुभवमा पनि सस्तो होस्टिंग भनेर किन्यो तर फाइलहरु राख्न स्पेस नपुग्नाले ठुलो समस्या सृजना गर्ने गर्दथ्यो ।
त्यसैले तपाइँ ले होस्ट गर्न लागेका वेबसाइट र डाटाबेसको साइजको अनुमान गरेर मात्र होस्टिंग चयन गर्नु होला । भविष्यमा बढ्न सक्ने साइजलाइ पनि नजर अन्दाज भने गर्न मिल्दैन ।
कति कम्पनिले अनलिमिटेड स्पेस उपलब्ध गराउने उल्लेख गरेका पनि हुन्छन । तपाइँको आवश्यकता र तिनीहरुले उपलब्ध गराउने अरु फिचरको आधारमा तपाइले छान्नु पर्ने हुन्छ ।
३. डोमेन र सब-डोमेन संख्या
कति होस्टिंग एकाउन्टमा तपाइँलाइ डोमेन र सब-डोमेनको लागि सिमित पारिएको हुन्छ ।
यदि तपाइँको होस्टिंग स्पेस अनलिमिटेड छ तर डोमेन संख्या १ मात्र छ भने त्यसले कुनै अर्थ दिदैंन । त्यसैले स्पेस संगै कति वटा डोमेनलाइ त्यसले सपोर्ट गर्छ भन्ने कुरा ख्याल गर्नु पर्ने हुन्छ ।
र यदि तपाइँलाइ असिमित सब-डोमेन बनाउनु पर्ने छ भने त्यसको सिमिततालाइ पनि हेर्नु पर्ने हुन्छ ।
४. ब्याण्ड विड्थ
यो तपाइँको वेबसाइट को पपुलारिटी र त्यसमा तपाइँले राख्नु भएको डाटाको साइजमा भर पर्छ । यदि तपाइँको साइटमा तस्बिर र भिडियो छ तर व्याण्ड विड्थ भने सिमित छ भने निश्चित भिजिट पछि साइट बन्द हुन्छ । जुन महिनाको आधारमा तोकिएको हुन्छ ।
सस्तो होस्टिंग लिदाँ भोग्ने गरेको समस्या मध्य यो पनि एक हो । शुरुशुरुमा मैले होस्टिंग गरेका साइटहरु व्याण्ड विड्थको कमिले महिनान्त तिर जहिले बन्द हुने गर्थे ।
५. टेक सपोर्ट
मेरो अनुभवमा यो सबै भन्दा महत्वपूर्ण कुरा हो । आइटी क्षेत्र मै काम गरे पनि यसका सम्पूर्ण विषयमा विज्ञ हुन्छु भनेर सकिदैन । कहिले काहिँ वेबसाइट देख्दै नदेखेको र सुन्दै नसुनेको समस्या आइपर्छन, जुन आफुले लेखेको कोड संग सम्बन्धित हुदैन । कहिले साइट ह्याक हुन सक्छ । सम्पूर्ण इमेलहरु डिलिट हुन सक्छन । यस्ता धेरै समस्याहरु देखा पर्न सक्छन । त्यस्तो समयमा तपाइँलाइ त्यसबाट पार लगाउने पहिलो भनेको सर्भर सपोर्ट टिम नै हो ।
कति कम्पनिको राम्रो सपोर्ट हुन्छ भने कतिको ढिलो र सुस्त । जुन कुरा तपाइँले अनलाइनमा अरुको रिभ्यु पढ्नु पर्छ र केहि रिसर्च गर्नु पर्ने हुन्छ । कति कम्पनिले त लाइभ च्याटको पनि व्यवस्था गरिदिएका हुन्छन । जसले गर्दा तपाइँलाइ सजिलै समस्या समाधान गर्न सहयोग मिल्न सक्छ ।
मैले अहिले चलाई राखेका पाचँ वटा होस्टिंग कम्पनीहरुमा क्र्युसिअल पाराडाइमको सबै भन्दा राम्रो सपोर्ट टिम छ । उनीहरुको सिस्टममा समस्या राखेको केहि मिनट मै समाधान आउने गर्छ । मलाइ मन नपरेको सपोर्टमा गो ड्याडी पनि एक हो । जुन प्राय ढिलो र असहयोगी उत्तर हुने गर्छ ।
अर्को कुरा उनीहरु को सपोर्ट २४/७ छ कि छैन भन्ने कुरा पनि हेर्नु पर्ने हुन्छ । यदि होस्टिंग कम्पनि अमेरिकामा छ र उनीहरुले सपोर्ट अफिस आवरमा मात्र गर्छन भने तपाइँलाइ समयको फरकले समस्या पर्न सक्छ ।
६. प्रोग्रामिङ्ग ल्याङ्गवेज सपोर्ट
तपाइँले होस्टिंग छान्नु अघि त्यसले कुन कुन प्रोग्रामिङ्ग ल्याङ्गवेज सपोर्ट गर्छ भन्ने कुरालाई ध्यान दिनु पर्ने हुन्छ । हुन सक्छ तपाइँले अहिले बनाउनु भएको साइट पीएचपी मा छ, तर भविष्यमा अर्को ल्याङ्गवेजमा गर्नु पर्ने भयो वा अर्को ल्याङ्ग्वेजको साइट होस्ट गर्नु पर्ने भो भने पुन अर्को होस्टिंग किन्नु नपरोस ।
७. डाटाबेस सपोर्ट
आजकल धेरै वेबसाइटहरु ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर बनाइएका हुन्छन । तपाइँले होस्टिंग किन्नु अघि तपाइँको साइटको डाटाबेस र त्यो कम्पनिले उपलब्ध गराउने अन्य डाटाबेस सपोर्ट लाइ पनि ध्यान दिनु पर्ने हुन्छ ।
धेरै होस्टहरु ले MySQL सपोर्ट गर्छन तर यदि तपाइँ Oracle, PostsgreSQL वा SQL Server सर्भर पनि भएको सर्भर लिनु भयो तपाइँलाइ भविष्यको लागि सजिलो हुन सक्छ ।
८. इमेल एकाउन्ट
प्राय सबै होस्टिंगले इमेल एकाउन्टको सुबिधा दिएकै हुन्छन । तर कति वटा सम्म इमेल बनाउन मिल्छ र त्यसको लागि कति स्पेस उपलब्ध छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
र तिनिहरुको आफ्नो इमेल इन्टरफेस छ कि छैन भन्ने कुरा पनि चेक गर्नु पर्छ । नत्र पछि इमेल प्रयोग गर्न असुविधा हुन सक्छ । त्यस्तै गुगलको एप्स सपोर्ट गर्छ कि गर्दै भन्ने कुरा पनि बुझ्नु पर्छ । र तिनीहरुले IMAP, POP लाइ सपोर्ट गर्छन कि गर्दैन चेक पनि गर्नु पर्छ ।
साथै स्पाम इमेलको समाधान गर्छ कि गर्दैन हेर्नु पर्ने हुन्छ ।
९. अन्य फ्रेमवर्क र एप्लिकेसन सपोर्ट
आजकल कति होस्टिंग कम्पनिहरुले एक क्लिक मै वर्डप्रेस, जुम्ला जस्ता पपुलर ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम इन्स्टल हुने सुबिधा उपलब्ध गराउछन । यदि तपाइँ फ्रेमवर्क प्रयोग गर्नुहुन्छ भने तपाइँलाइ पक्कै पनि यसले सजिलो बनाउन सक्छ । साथ-साथै अन्य फोरम, बुलेटिन, इकमर्स सोलुसनहरु पनि उपलब्ध गराएको गराएका हुन्छन । जस्ले गर्दा तपाइँले एक क्लिक मै आफ्नो सपिङ्ग साइट, डिस्कसन फोरमहरु इन्स्टल गर्न सक्नुहुन्छ ।
१०. साइट ब्याकअप
यदि तपाइँको साइट ह्याक भयो, सम्पूर्ण डाटा भुलबस डिलिट भयो वा अन्य केहि समस्या देखियो र त्यसलाई समाधान गर्न सकिएन भने त्यो परिस्थितिमा पुरानो ब्याक अप बाट साइटलाइ रिस्टोर गर्नुपर्ने हुन्छ ।
ब्याकअप प्लानको बारेमा होस्टिंग कम्पनिको आ-आफ्नो नियम हुन्छ जुन तपाइँले होस्टिंग किन्नु अघि नै विचार पुर्याउनु पर्ने हुन्छ ।
यदि होस्टिंग कम्पनिले आफै व्याक अप सुबिधा छैन भने तपाइँले आफै नियमित व्याक अप गर्नु पर्ने हुन्छ । जसले तपाइँको डाटा लस हुन बाट बचाउछ । जसको लागि तपाइँलाइ सेल एक्सेस र क्रोन जव्सको आवश्यकता पर्न सक्छ । जुन तपाइँको होस्टिंग कम्पनिले सपोर्ट गर्नु पर्छ ।
११. अन्य सुबिधाहरु
यी माथीका बुदाँहरुको यदि तपाइँ एडभान्स प्रयोग कर्ता हुनुहुन्छ भने तपाइँलाइ सेल एक्सेस, क्रोन जव्स, एचटिएक्सेस जस्ता कुराहरु को पनि आवश्यकता पर्न सक्छ । जुन कुरा तपाइँले होस्टिंग किन्नु अघि नै विचार पुर्याउनु पर्ने हुन्छ ।
साथसाथै तपाइँको सर्भरको हार्ड वयर, अपरेटिंग सिस्टम, अप टाइम, युजर इन्टरफेस, कन्ट्रोल प्यानल, एफटिपी एक्सेस जस्ता कुराहरुलाइ पनि ध्यान दिनु पर्ने हुन्छ ।
१२. बोनस
हुन त बोनसको कुरा हास्यास्पद लाग्न सक्छ । तर मेरो बिचारमा यो पनि एउटा महत्वपूर्ण कुरा हो । तपाइँले देख्नु हुने जुन मूल्य वेबसाइटमा राखिएको हुन्छ त्यो कमैले मात्र तिर्ने गरेका हुन्छन ।
प्राय होस्टिंग कम्पनिहरुले बोनस कुपनहरु उपलब्ध गराएका हुन्छन जुन ५ देखि ५० सम्मको छुट हुने गर्छ । जसको लागि तपाइले गुगल पनि गर्न सक्नुहुन्छ ।
र त्यसको साथसाथै कति कम्पनिले तपाईलाइ होस्टिंग प्याकेज किन्दा निशुल्क डोमेन, गुगल एडवर्ड मा $५० क्रेडिट, फेसबुक बिज्ञापनको लागि $५० क्रेडिट दिने गर्छन । साथ साथै अन्य बिज्ञापनको सेवा पनि दिएका हुन्छन । जसलाई तपाइँले सहि सदुपयोग पनि गर्न सक्नुहुन्छ ।
यी केहि साधारण कुराहरु थिए जुन कुरालाई तपाइँले मध्यनजर गरेर वेब होस्टिंग किन्नु भयो भने भविष्यमा आउन सक्ने साइटका समस्याहरु बाट केहि हद सम्म मुक्त हुनुहुने छ ।
आशा छ तपाइँलाइ केहि वेब होस्टिंगको बारेमा जानकारी भयो होला ।