तपाइँलाई कुनै पनि विषय, ठाउँको बारेमा जानकारी लिनु प-यो भने के गर्नुहुन्छ?
मानौ आज तपाइँलाई चाइनिज खानाको स्वाद लिन मन लाग्यो । पक्कै पनि तपाइँ काठमाण्डौका चोक-चोकहरुमा चाइनिज रेस्टुरेन्ट कँहा छन् भन्दै खोज्दै त हिड्नुहुन्न् होला नि ? सायद त्यो गर्नुहुन्छ भने पनि तपाइँको मेहनत व्यर्थ हुने सम्भावना बढी हुन्छ र खोजेको ठाउँ नै फेला नपारी घर फर्किनु पनि पर्न सक्छ । सायद तपाइँलाई थाहा होला, यो इन्टरनेटको युगमा सबैभन्दा सजिलो र छिटो कुनै पनि कुराको जानकारी पाउने माध्यम सर्च इन्जिन बाहेक अरु कुनै हुनै सक्दैन । र सर्च इन्जिन भनिसकेपछि तपाइँको मनमा २-४ ओटा नामहरु पनि आयो होला, गूगल डट कम, याहू डट कम, बिंग डट कम, आस्क डट कम आदि इत्यादि । यी कुनै सर्च इन्जिनमा गएर यदि तपाईंले “चाइनिज रेस्टुरेन्ट, काठमाण्डौ” भनेर टाइप गर्नु भयो भने केहि सेकेण्डमै कैंयौ साइटहरुको लिस्टहरु पाउनुहुनेछ, भएन त चमत्कार! घरमै बसी-बसी आफुलाई आवश्यक जानकारी एउटा क्लिकको भरमा पाउने । तर मैले आज कुरा गर्न गैइरहेको विषय “सर्च इन्जिनमा आफुलाई आवश्यक जानकारी कसरी खोज्ने” भने पक्कै होइन । मैले कुरा गर्न गईरहेको विषय रेस्टुरेन्ट ग्राहकसँग सम्बन्धित होइन, रेस्टुरेन्ट संचालक/साहुसँग सम्बन्धित हो, आफ्नो रेस्टुरेन्टलाई कसरि ग्राहकहरुले खोजेको बेलामा सर्च इन्जिनमा सजिलै उपलब्ध हुने बनाउने ।
अब सायद तपाइले अनुमान पनि लगाईसक्नुभएको होला के रहेछ त सर्च इन्जिन अप्टिमाइजेसन । यदि अझै पनि स्पष्ट हुने भएको छैन भने पनि चिन्ता नलिनुहोस्, तपाइँले यो पूरा लेख पढ्दा सम्ममा अवश्य स्पष्ट हुनुहुनेछ । सर्च इन्जिन अप्टिमाइजेसन त्यसलाई भनिन्छ जस्ले तपाइँको वेबसाइटलाई गूगल, याहू, बिंग जस्ता नि:शुल्क सर्च इन्जिनहरुमा तपाईको उपस्थिति जनाउनका लागि सहयोग गर्ने गर्दछ । अझ भन्नु पर्दा तपाइँको ग्राहकले खोजेको जानकारी सजिलै पाउनका लागि यस्ले सहयोग गर्दछ ।
अब प्रश्न उठ्न सक्छ, के यो हरेक बिजनेशको लागि आबश्यक छ त? तपाइँ भन्न सक्नुहुन्छ मैले त टिभी, रेडियो, पत्रिकाहरुमा बिज्ञापन दिईराखेकै छु नि, अब किन गर्नु पर्यो सर्च इन्जिन अप्टिमाइजेसन? के तपाइँका सेवाहरुको जानकारी तपाइँले टार्गेट गर्नु भएका पोटेन्शियल ग्राहकहरु माझ पुगेको छ त? के तपाइँले टार्गेट गरेका सबै ग्राहकहरुले पत्रिका पढ्छन? मानौ तपाइँको एउटा ट्रावल एजेन्सी छ, के तपाइँले गरेको परम्परागत बिज्ञापन बिदेशी पर्यटकले आफ्नो देशमा बसेर पनि हेर्न सक्छन? पक्कै पनि सबैको लागि सबै समय र स्थानमा सम्भव छैन । यस्तो अवस्थामा यदि कुनै ग्राहकले तपाइँको फोन नम्बर र बिजनेशको ठेगाना खोजिरहेको छ तर पाउन सकेन भने के तपाइँको बिजनेश लामो समय सम्म चल्न सक्छ त? तपाइँ पक्कै पनि एकै छिन सोंचमा पर्नु भयो होला । हो, सर्च इन्जिन यस्तो ठाउँ हो जँहा संसारको जुनसुकै कुनाबाट र जुनसुकै समयमा एक क्लिकको भरमा ग्राहकले चाहेको जानकारी प्राप्त गर्न सक्छन । टिभी, रडियोमा जस्तो निश्चित समय कुरेर बस्नु पर्दैन र त्यसमा जस्तो पैसा पनि खर्चिनु पर्दैन । गूगल, याहू, माक्रोसफ्ट जस्ता ठुला-ठुला कम्पनिहरुले तपाइँलाई निशुल्क सेवा प्रदान गर्ने छन् ।
अब अघिकै रेस्टुरेन्ट खोज्ने विषयलाई नै हेरौ । मानौ ठमेलमा तपाइँले खोजेको जस्तै दुइ ओटा चाइनिज रेस्टुरेन्टहरु छन् र जस्ले दिने परिकार, सेवा, तिनीहरुको सजावट र ठेगाना सबै मिल्दो जुल्दो छ । तर एउटा रेस्टुरेन्ट गूगलको सर्च नतिजामा एक नम्बरमा छ र अर्को धेरै पछाडि छ । अब तपाइँ नै भन्नुहोस् कुन रेस्टुरेन्टको बिजनेश सफल हुन सजिलो हुन्छ होला त? मानिसहरु धेरै अल्छी हुन्छन, भनिछ ९९% दर्शकले पहिलो पृष्ठमा देखाईएको नतिजा मात्र हेर्ने गर्छन । त्यसैले सर्च नतिजामा जति अगाडि तपाइँको साइट देखा पर्छ त्यति नै तपाइँको ग्राहक आउने सम्भावना बढी हुन्छ । त्यसको लागि तपाइँले आफ्नो साइटको सर्च इन्जिन अप्टिमाइजेसन गर्नु पर्ने हुन्छ, जस्ले तपाइँको साइटलाई सर्च इन्जिनले देखाउने नतिजामा अगाडि आउन सहयोग गर्छ ।
सर्च इन्जिनले कसरि काम गर्छ?
धेरै मानिसहरुमा अझै पनि एउटा भ्रम छ की सर्च इन्जिन भनेको मानव हो अर्थात यसलाई एउटा व्यक्तिले नियन्त्रण गर्छ । यदि तपाइँ पनि त्यस्तो सोच्नुहुन्छ भने त्यो भ्रम हटाउनु भए हुन्छ, यो एउटा सफ्ट्वयर हो जसलाई क्रलर वा स्पाइडर भानिन्छ । त्यो स्पाइडरले तपाइँको वेबसाइटमा भएको विषय बस्तुको आधारमा जानकारी राख्ने गर्दछ । र यो काम गर्नको लागि हरेक सर्च इन्जिनको आ-आफ्नै नियम हुने गर्छ, जसलाई सर्च इन्जिन अल्गोरीदम् भनिन्छ । त्यहिँ नियमको आधारमा रहेर साइटहरुको सर्च इन्जिन अप्टिमाइजेसन गर्ने गरिन्छ ।
कसरि गर्न सकिन्छ सर्च इन्जिन अप्टिमाइजेसन?
– साइटलाई आफ्नै कम्पनीको फरक लोगो र रुपले आकर्षक बनाउने
– सुहाउदो र सजिलो न्याभिगेसन राख्ने
– नियमित रुपमा नयाँ-नयाँ जानकारीहरु अपडेट गरिरहने
– एउटा जानकारी एक पटक भन्दा बढी नराख्ने
– अरुको साइटबाट लेख, रचना चोरेर जस्ताको तस्तै नराख्ने
– वेबसाइटमा भएका सबै लिंकहरु ठिक छ की छैन चेक गर्ने
– सर्च इन्जिन र ग्राहक दुवैलाई ध्यानमा राखेर लेख लेख्ने
– उपयुक्त तरिकाले लेख व्यवस्थापन गर्ने (जस्तै: हेडिंग, बोल्ड, अण्डरलाइन, लिस्ट आदि)
– आफूले सर्च इन्जिनमा आउन चाहेको विषयलाई प्रार्थमिकताका दिने
– वेबसाइटको छिटो खुल्ने बनाउने
– अक्षर/लेखहरु लुकाएर नराख्ने
– स्पेलिंग ठिक छ की छैन चेक गर्ने
– सर्च इन्जिनलाई ध्यानमा राखेर कोडिंग गर्ने
तर कतिपय कुराहरु तपाइँ आफैलाई गर्नु असम्भव पनि हुन सक्छ, त्यस्को लागि तपाइँले मार्केटमा उपलब्ध हुने कुनै सर्च इन्जिन अप्टिमाईजर वा कम्पनिको सहयोग पनि लिन सक्नु हुन्छ । यो कुरा तपाइँले बुझ्नु आवश्यक छ की तपाइँको साइटको नाम थाहा भएर तपाइँको साइट हेर्न आउने दर्शक एकदमै कमै हुन्छन । भनिन्छ कुनै पनि साइटमा आउने ८५% भन्दा बढी दर्शकहरु गूगल, याहू, बिंग जस्ता सर्च इन्जिन बाट आउने गर्छन । त्यसैले सर्च इन्जिनलाई बेवास्था गर्नु भनेको कुनै साइन, नाम बिनाको अफिस राख्नु जस्तै हो । तपाइँको पोटेन्शियल ग्राहक तपाइँ त्यहाँ हुनुहुन्छ भन्ने थाहै नपाइ तपाइँको पसल अघिबाट जान पनि सक्दछन ।